काठमाडौं । रौतहटमा काठ तस्करको समूहले आक्रमण गर्दा एक जना फोरेस्टरसहित दुई जना वन कर्मचारी घाइते भएका छन् । प्रहरीका अनुसार तस्कर समूहले आक्रमण गरेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र वन रक्षक रत्नबहादुर बुढाथोकीलाई घाइते बनाएका हुन् ।

आक्रमणबाट टाउकोमा गहिरो चोट लागेका फोरेस्टर महतोको चन्द्रपुर अस्पतालमा उपचार गरिएको डिभिजन प्रमुख अमरदेव यादवले बताए । प्रमुख यादवका अनुसार जिउभरी चोटपटक लागेका वन रक्षक बुढाथोकी उपचारपछि अहिले जिल्ला वन कार्यालयमा छन् । फोरेस्टर महतो र वन रक्षक बुढाथोकी गएराति सिमरी गाउँतर्फ गस्तीमा गएका बेला राति १२ बजे सिमरी गाउँ छेउमा दुई जना तस्कर मोटरसाइकलमा काठ चोरेर गइरहेका थिए । गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल छोडेर भागेका थिए । गस्ती टोलीमा २ जना मात्र रहेको थाहा पाएपछि सिमरी गाउँबाट थप केही मानिस बोलाएर उनीहरुले फोरेस्टर महतो र वन रक्षक बुढाथोकीमाथि आक्रमण गरेका थिए ।
सेक्टर वन कार्यालय चोंचाका प्रमुख बैधनाथ मण्डलका अनुसार आक्रमणपछि प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरीसहित थप वन सुरक्षा टोली त्यहाँ पुगेर फोरेस्टर महतो र वन रक्षक बुढाथोकीको उद्दार गरेको थियो । घटनास्थलबाट वन गस्ती टोलीले आज बिहान तस्करले प्रयोग गरेको बा २६ प ४४१२ पल्सर १५० सिसिको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको सेक्टर प्रमुख मण्डलले जानकारी दिए ।














