लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी प्रतिपक्षमा बस्ने पार्टी नभएको बताएका छन् ।
शुक्रबार लमजुङको घलेगाउँमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक छिनका लागि मात्र प्रतिपक्ष भएको र अब प्रतिपक्षमा नबस्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यहाँहरू सबैलाई थाहा छ, अहिले नेकपा एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । जालझेल गरेर प्रतिपक्षमा पु¥याएपनि हामी फेरि सरकारमा पुग्छौंँ ।’
उनले एमालेले देश र जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको दावी गरे । उनले भने, ‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ ।’
अध्यक्ष ओलीले घलेगाउँको बाजागागाका लागि २ लाख रूपैयाँ सहयोग दिनेसमेत घोषणा गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको बताउँदै भने, ‘आजकल जनताहरू भोट के मा भन्नेवित्तिकै सूर्यतिर औँला देखाउँछन् ।’














