काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी थप शसक्त भएको बताएका छन् ।
पेरिसडाँडामा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्दै शुक्रबार प्रचण्डले गत वर्ष गरिएको संसद् विघटन जस्तो प्रतिगामी कदमविरुद्ध थालेको आन्दोलनले नेकपा माओवादी केन्द्र थप सशक्त बनेको बताएका हुन् ।

उनले भने, ‘यो देशको विकास र नेतृत्व गर्ने तागद पनि नेकपा माओवादी हो भन्ने सबैले अहिले बुझेका छन्। केही समय पहिले भ्रम थियो माओवादीको बारेमा, ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने जुन षडयन्त्र भयो। त्यसविरुद्ध जब हामीले संघर्ष गर्यौं त्यसबाट नै नेकपा माओवादी केन्द्र थप शसक्त भयो ।’
उनले माओवादी केन्द्र प्रवेश गरेका नेता कार्यकर्ताहरुको उचित सम्मान, कार्यविभाजन र जिम्मेवारी दिइने बताए । उनले भने, ‘आसन्न निर्वाचनको मुखमा छौं । तपाईंहरुले गरेको फैसला सही छ । पार्टीमा हार्दिक स्वागत पनि गर्न चाहन्छु ।’
उनले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने पर्ने बताए । उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे ।














