Logo
Logo

आवश्यकताअनुसारको सुपारी आयातको अनुमति : उद्योगमन्त्री


945
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकताअनुसारको कच्चा पदार्थ (सुपारी) आयातको अनुमति पाउने बताए ।

आज प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगको आवश्यकताअनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताए।

उनले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो बढेपछि सरकारले औद्योगिक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिइएको जिकिर गरे ।

‘उद्योगीको गुनासोपछि हामीले कच्चा पदार्थ आवश्यक पर्ने उद्योगलाई मात्र कच्चा पदार्थ आयातको अनुमति दिनुपर्छ भनेर नै तोकेका हौँ । यसअघिको सरकारले अपारदर्शी निर्णय गर्दा अहिले समस्या देखिएको हो, हामीले आयातलाई व्यवस्थित गर्दैछौँ, कच्चा पदार्थ नपाएकै कारण कुनै पनि उद्योग बन्द हुँदैनन्’, उनले भने ।

उनले सरकारले सुपारी आयातलाई व्यवस्थित गर्ने काम गरिरहेको भन्दै आयात खुलाउनुपर्नेमा जोड दिए । ‘समितिले अध्ययन गर्ने भन्दै सुपारी आयातको अनुमति रोकेको रहेछ । तपाईंहरुले अध्ययन गरिसक्नुभयो, सुझाव भए केही पाऊँ, होइन भने अहिले रोकिएको आयात खुलाऊँ’, उनले भने ।

उनले आयात खुलाउनुपर्ने माग गरेपछि समितिका सभापति विमल श्रीवास्तवले आइतबार थप छलफल गरेर थप निर्णय गरिने बताए ।
।”

प्रतिक्रिया दिनुहोस्