Logo
Logo

करेन्ट लागेर एक जनाको मृत्यु, ७ जना घाइते


567
Shares

रौतहट । रौतहटमा विवाहको पूजा (मटकोर) मा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ भने ७ जना महिला घाइते भएका छन् । जिल्लाको दुर्गाभगवती गाउँपालिका–१ गंगा पिपरास्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूजा (मटकोर) मा गीत गाउन ती ८ जना महिलाहरु गएका थिए ।

सो पूजामा गाउँका मान्छेहरु भेला भई सामूहिक गीत गाउने क्रममा अचानक माइकबाट करेन्ट उत्पन्न हुँदा एक जनाको मृत्यु भएको र ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शनिवार साँझ करिब सवा ७ बजे करेन्ट लाग्दा घाइते भएकी नरेश राउतकी बहिनी ३० वर्षीया सम्घरिया देवीको सुकदेव चोकस्थित शिवदर्शन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर दुर्गाभगवती गाउँपालिका–१ पिपराका महेन्द्र राउतकी श्रीमती ३५ वर्षीया सीतादेवी राउत, ३५ वर्षीया अनितादेवी राउत, ६५ वर्षीया मन्तोरिया देवी, ७० वर्षीया मुनि राउत, ६५ वर्षीया केवला देवी, ५५ वर्षीया सुशीला देवी र ७५ वर्षीया हिरिया देवी घाइते भएका छन् । उनीहरुको पिपरास्थित बागमती सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्