Logo
Logo

निर्वाचनमा अझै आशंका ?


1.9k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन आउन २६ दिन बाँकी छ, निर्वाचन आयोगले कार्यतालिकाअनुसार तयारी गरिरहेको छ । तैपनि निर्वाचन नहुने पो हो कि भन्ने आशंका व्याप्त छ । सत्तारूढ दलकै नेताहरूले निर्वाचन सार्न सकिने अभिव्यक्ति दिइरहेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार जनकपुरको एक कार्यक्रममा मुलुकमा निर्वाचनको माहोल भइसकेकाले शंका–उपशंका नगर्न आग्रह गरे । ‘देशमा निर्वाचनको माहोल तयार भइसकेको छ, कहींकतैबाट अझै पनि निर्वाचनका विषयमा विभिन्न शंका–उपशंका हुनु राम्रो होइन,’ उनले भने । प्रमुख निर्वाचन आयुक्तकै यस्तो भनाइ किन आयो भन्ने पनि बहसको विषय छ ।

वैशाख ३० मा निर्वाचन गर्न आयोगले ५ अर्बभन्दा बढी खर्च गरिसकेको छ । ४० भन्दा बढी जिल्लाको मतपत्रसमेत छापिइसकेको छ । वैशाख ११ देखि निर्वाचन सामग्री जिल्ला–जिल्ला ढुवानीका लागि आयोगले ३० जनाभन्दा बढी सैनिक खटाएर प्याकिङ गरिरहेको छ । हरेक मतदान केन्द्रमा प्रयोग हुने स्वस्तिक छापसमेत जाँच भइरहेको छ । ‘खरिद गरेकामध्ये ९० प्रतिशत सामग्री आइसकेका छन्,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चीनबाट आउने भनिएका केही सामग्री बाटोमै छन् । यो साताभित्र सबैजसो सामान आइपुग्छ ।’

आयोगले यतिको तयारी गरिसक्दा पनि सत्तारूढ दलकै नेताहरूले भने निर्वाचन सार्न सकिनेसम्मका सार्वजनिक अभिव्यक्ति दिन छाडेका छैनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चैत २८ मा पर्वत पुगेर निर्वाचन सार्न सकिने बताएका थिए । नेत्रविक्रम चन्द सहभागी भए वैशाख ३० को निर्वाचन सार्न सकिने उनको भनाइ थियो । खासमा चन्दको नाम बेचेर समाजवादी, माओवादी र स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्न खोजेको उनीहरूकै सहकर्मीहरूको भनाइ छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्