काठमाडौं । काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ । नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ ।

सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् । सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहोर भने नदीमा मिसिन्छ । नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । विगत १० वर्षदेखि सफाइ अभियान जारी रहे पनि नदी ढलमुक्त हुनसकेको छैन । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकालगायत राजधानीका अन्य स्थानीय तह सफल हुनसकेका छैनन् । फोहोर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा परेको छैन । अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरे पनि फोहोर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन् । जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको छ । सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन ।
गर्मी बढ्दै गएकाले ठाउँ–ठाउँमा थुप्रिएको फोहोरबाट रोगको महामारी फैलनेतर्फ सम्बन्धित पक्षको ध्यान नगएको धुलिखेल अस्पतालका डा. रोशन पोखरेल बताउँछन् । वाग्मती सफाइ महाअभियानको ४६६ औँ हप्ता र तिलगंगा सफाइ अभियानको ३६६ औँ हप्तामा शनिवार तिलगंगा पहेँलो पुलमा सफाइ गरेको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, तिलगंगा महिला समूह, रोयल बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० जनाको समूह, सिभिल क्यापिटल मार्केटस् प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीको सहभागिता रहेको उनले बताए ।
सो अवसरमा सफाइ महाअभियानका लागि सिभिल क्यापिटल मार्केट्स प्रालिबाट साढे एक दर्जन ठूलो पन्जा, दुई थान सावेल र डोको प्रदान गरिएको थियो । अर्को हप्ता ४६७ औँ हप्ताको सफाइ सिनामंगल पुलको नदी किनारमा गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी, काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी, गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहोर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौं उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौंमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।
यसैगरी, पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहोर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहोर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौं उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहोर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् । स्थानीय सरकार फोहोर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । वाग्मती सफाइ अभियानकर्मी कञ्चन रावत स्थानीय सरकारको प्राथमिकतामा वातावरण र फोहर व्यवस्थापन नपर्ने गरेको अनुभव सुनाउँछन् । फोहरलाई घरमै कुहिने र नकुहिने वर्गमा छुट्याएर मोहरमा परिणत गर्न सकिने भए पनि त्यसतर्फ कुनै पनि तहका सरकारले ध्यान नदिएको उनले सुनाए ।
फोहोर व्यवस्थापनमा स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारले पनि साथ दिनुपर्नेमा त्यस्तो हुन नसकेको अभियानकर्मीको भनाइ छ । गोकर्णेश्वर नगरपालिकाले तीन वर्षअघि ल्याएको फोहोर जलाउने आधुनिक यन्त्र गत हप्ता मात्र जडान भएको छ । नगर क्षेत्रमा यन्त्र जडान गर्न स्थानीयवासीले रोक लगाएपछि काठमाडौं महानगरपालिका–८ स्थित वाग्मती नदी किनारमा यन्त्र जडान गरिएको छ । यन्त्रबाट फोहोर जलाउँदा वातावरणमा के प्रभाव पर्छ भन्ने अध्ययन भने भए/नभएको स्पष्ट पारिएको छैन ।














