
काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलका लागि मोडालिटी तय गरिसकेको सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको सिट बाँडफाँटमा अनिर्णित भएको छ ।
सबै दलले अधिकांश महानगरमा दाबी गरेपछि गठबन्धनले महानगर र उपमहानगरको सिट बाँडफाँट गर्न नसकेको हो । नगरपालिका र गाउँपालिकाको बाँडफाँट स्थानीय संयन्त्रले नै टुंगो लगाउने निर्णय गरेको गठबन्धनले महानगर र उपमहानगरको बाँडफाँट भने केन्द्रले नै टुंगो लगाउने निर्णय गरेको गरेकाे थियाे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । बैठकबाट महानगर र उपमहानगरको बाँडफाँट टुंगो लगाउने कोसिस गरिएको थियो । तर, सबै दलले अधिकांश महानगर र उपमहानगरमा दाबी गरेपछि टुंगो लाग्न नसकेको हो ।
बैठकमा समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे धारणा मागेका थिए ।
बैठकमा माओवादी केन्द्रले भरतपुर महानगर र धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी पेश गरेको थियो । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)ले पनि पोखरा महानगरसहित तीन उपमहानगरमा नेतृत्व दाबी गरेको छ । अन्य दलले पनि महानगर र उपमहानगरमा दाबी गरेका छन् ।














