काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा जवाफमा अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको उनले बताए ।

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि हाल उनी निलम्बित अवस्थामा छन् । गभर्नर निलम्बनको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माको आलोचना भइरहेको छ ।
यस्तै, अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने पनि बताए । उनले अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको बताउँदै सरकार र सत्तारुढ गठबन्धन निर्वाचन गर्ने मनसायमा नरहेको बताए । उनले भने, ‘निर्वाचन सर्दैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ । गठबन्धन दृढताका साथ निर्वाचनको तयारीमा लागेको छ ।’
दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे ।














