एजेन्सी । शान्त मुलुक स्वीडेनमा कुरान जलाइएसँगै उग्र दक्षिणपन्थी प्रभाव बढेको छ । एजेन्सीका अनुसार एक उग्र दक्षिणपन्थी तथा आप्रवासी विरोधी समूहहरूले मुस्लिम धर्मावलम्बीहरुको पवित्र धर्मग्रन्थ कुरान जलाएका हुन् ।

उक्त घटनालाई लिएर स्वीडेनका कयौं सहरमा ४ दिनयता भड्किएको हिंसा नियन्त्रणमा आउन सकेको छैन । देशको पूर्वी सहर नोर्कोपिङमा आइतवार प्रहरीले दंगाकारीलाई चेताउन गरेको फायरिङमा तीन जना घाइते भएका एजेन्सीमा उल्लेख छ । स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनी दिन गोली चलाउँदा तीन जना घाइते भएका हुन् । प्रहरी कारबाहीमा उत्रनुअघि दंगाकारीले कयौं सवारी साधनमा आगजनी गरेका थिए । दंगामा संलग्न झन्डै १७ जनालाई पक्राउ गरिएको बताइएको छ । शनिवार दक्षिणी सहर माल्मोमा उग्र दक्षिणपन्थीहरुले निकालेको र्यालीका क्रममा हिंसाले उग्ररुप लिएपछि कयौं साना सवारी साधनसहित एउटा बसमा आगजनी भएको थियो ।
डेनिस–स्वीडिश उग्रवादी रासमुस पालुदानले आफूले इस्लामको सबैभन्दा पवित्र ग्रन्थ कुरान जलाएको र फेरि जलाउने बताएका छन् । अति दक्षिणपन्थी समूहले बिहीवार, शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरेका स्थानमा भड्किएको झडपमा कम्तीमा १६ जना प्रहरी अधिकारीसमेत घाइते भएका थिए । त्यसक्रममा प्रहरीको गाडीहरुमा क्षति पुगेको थियो । झडपका घटनाहरू स्टकहोमको उपनगरलगायत लिनकोपिङ र नोरकोपिङजस्ता सहरमा भएका थिए । शान्त मानिने मुलुक स्वीडेनमा भएको घटनाको साउदी अरब, इरान र इराकजस्ता मुस्लिम बहुल मुलुकले विरोध जनाएका छन् ।
इरान र इराक सरकारले तिनको आफ्नो देशका स्वीडिस राजदूतलाई बोलाएर कुरान जलाएको घटनाको विरोध जनाएका हुन् ।स्वीडेनका उग्रदक्षिणपन्थीहरुले देशमा बढ्दो मुस्लिम जनसंख्यालाई आतंकित बनाउन कुरान जलाउने गरेका छन् । यसअघि सन् २०२० मार्चमा स्ट्राम कुर्सले पनि कुरान जलाएपछि हिंसा भड्किएको जनाइएको छ ।











