म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिव भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

केही महिनायता नै पार्टीको राजनीतिमा सक्रिय भएका वडा अध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको हो । नेपाली वडा २ रुम खबाङका युवा नेता हुन् ।
पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए ।
मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आवश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले बताए ।
वडा नम्बर २ का प्रभावशाली युवा नेताको रुपमा परिचित नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हकहित र अधिकारका लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको बताए ।
उनले माओवादीका नेता जुग्जालीको पारदर्शी व्यवहार, विकासप्रेमी दृष्टिकोण र स्पष्ट व्यक्तित्वबाट प्रभावित भएर आफु माओवादीमा आबद्ध भएको बताए ।














