Logo
Logo

ओलीलाई २० वर्षे युवाको प्रश्न- मलाई टिकट दिनुहुन्छ कि ७ करोड दिने व्यापारीलाई ?


5.1k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘युवासँग म’ अन्तरक्रिया आयोजना गरेका छन् । स्वतन्त्र युवाहरु के चाहन्छन् भन्ने अभिमत लिन उनले आफ्नै अग्रसरतामा उक्त अन्तरक्रियाको आयोजना गरेका हुन् ।

बुधवार गोदावरीस्थित सनराइज हलमा भएको उक्त अन्तरक्रियामा युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयबारे ओलीलाई प्रश्न गरेका थिए ।

तीमध्ये रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले चुनावमा टिकट वितरणमा हुने आर्थिक चलखेलसम्बन्धी प्रश्न गरे ।

काठमाडौं स्कुल अफ लमा अध्ययनरत भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको सुनाए । उनले ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए । उनले भने, ‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?’

उनले आफूलाई चार वर्षपछि सिद्धार्थनगरको टिकट दिने कि नदिने भन्दै प्रश्न गरे । उनले भने, ‘म कानुन पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए भने त्यो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’

सर्वोच्च अदालतमा अहिले न्यायाधीश पनि पार्टीकै भएको उनले दाबी गरे । ‘म च्यालेञ्ज दिएर भन्न सक्छु सर्वोच्चका कुन न्यायाधीश कुन पार्टीका भन्न सक्छु’, उनले भने, ‘न्यायाधीश हुन पनि कुनै पार्टीको झोला बोक्नुपर्छ ।’

ओलीले कार्यक्रममा आफूलाई सोधिएका सबै प्रश्नको एकमुष्ट जवाफ दिएका छन् । ओलीले युवाहरूबाट आएको प्रश्नले आफूलाई खुसी लागेको बताए । उनले भेन, ‘देशलाई कता लैजानुपर्छ, कसरी लैजानुपर्छ भन्ने तपाईँहरूले ठिक ढंगले थाहा पाएको देख्दा खुसी लाग्यो, यसले देशको भविष्य उज्ज्वल छ भन्ने देखाएको छ ।’

युवाहरूमा असन्तुष्टि स्वाभाविक रूपमा हुने बताउँदै ओलीले त्यो असन्तुष्टि गलतको विरुद्धमा भएर सुधारको लागि पनि उपाय दिने खालको हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्