सुदूरपश्चिम । नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेमाथि पालिका प्रमुखहरुको उम्मेदवारी दिलाउन रकम बार्गेनिङ गरेको आरोप लागेको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कैलालीका केही नगरपालिका र गाँउपालिकामा उम्मेदवारीको सुनिश्चतता गर्दै सचिव पाण्डेले आकांक्षीहरुबाट २५ लाख रुपैयाँसम्म घुस मागेको कुरा बाहिरिएको हो ।

कैलालीमा १३ पालिका छन् । २३–२७ पुस २०७८ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पाण्डे सचिव चुनिएका हुन् । २०७४ का तीन तहका चुनावमा अवसर नदिएको भन्दै एमाले नेता भीम रावलले खरो आलोचना गर्दै आएका पाण्डे यसपल्ट रावलकै प्यानलबाट सचिव चुनिएका हुन् । पाण्डे एक्लैले अहिले कैलाली एमालेमा तहल्का मच्चाएका छन् ।
जिल्ला अधिवेशनमा केपी शर्मा ओलीको टिमलाई टुक्र्याउन सफल पाण्डेले ओली पक्षधर मानिएका नेताहरु नारदमुनी राना, लिला भण्डारी, दिपक देवकोटा, कमला ओलीलाई समेत भीम रावलको टिमसँग गठबन्धन गराउन भूमिका खेलेका थिए ।
एमाले महासचिव शंकर पोखरेलको ‘खास मान्छे हँ’ु भन्दै खुल्ला अभिव्यक्ति दिँदै आएका रण बहादुर चन्द रावल प्यानलबाट जिल्ला अध्यक्षमा चार भोटले हारेका थिए । सोही प्यानलका पाण्डे ३४ भोटले जिते ।
ओली टिमलाई फुटाएर भीम रावल टिमलाई बहुमत दिलाउन सफल डेजी पाण्डे कैलाली एमालेमा शक्तिशाली बन्दै गएको कैलालीका एमाले नेताहरु स्वीकार गर्छन् । त्यही शक्तिको आडमा अहिले उनले मेयर र पालिका अध्यक्षको टिकट मेरो खल्तीमा छ भन्दै आंकाक्षीहरुसँग रकम माग्न थालेको एक जना मेयरका आकांक्षीले बताए ।
मेयर र पालिका अध्यक्षको टिकट कन्फर्म दिलाउछु २५ लाख रुपैयाँको अग्रिम व्यवस्था गर्नुस् भनेर दवाव दिने गरेको कुरा आकांक्षीहरुले बाहिर ल्याइदिएपछि कैलाली एमालेमा तनाव सिर्जना भएको छ ।
जिल्ला अधिवेशनमा ५० लाख रुपैयाँ खर्चेर सचिव जितेको पाण्डेले आकांक्षीहरुलाई बताउने गरेको नगरपालिकाको मेयरका एकजना आकांक्षीले बताए ।
पाण्डेको २५ लाखको अफरले कैलालीका घोडाघोडी, लम्की चुहा र टीकापुर नगरपालिकाका उम्मेरदवारलाई भने राहत मिलेको छ । यी तीनै नगरपालिकामा यसअघि एमालेले जितेको थियो । यी तीनै नगरपालिकाबाट हाल कसैको पनि नाम मेयरका लागि पुनः दोहरिन सिफारिसमा नपरेकोले यी तीनै वटा नगरपालिकाका हालका मेयरहरु पाण्डेलाई २५-२५ लाख रुपैयाँ खर्च दिन तयार रहेको श्रोतको दावी छ ।
यी तीनमध्ये घोडाघोडीका ममता प्रसाद चौधरी र टीकापुरका तपेन्द्र रावलले मेयरमा पुनः दोहरिने इच्छा राख्दै एमाले महासचिव शंकर पोखरेललाई भेटेको बताइन्छ ।
महासचिव पोखरेलको ‘खास मान्छे हुँ’ भन्ने धनगढीका एकजना पत्रकारले चौधरी र रावललाई महासचिव पोखरेलको निवासमा पुर्याएको कैलालीमा चर्चा छ ।
यी दुई मेयरलाई महासचिवको निवास पुर्याएर भेटघाट सफल बनाए बापत १०÷१० लाख रुपैयाँको डकुमेन्ट्री निर्माण गर्ने काम ती पत्रकारले प्राप्त गरेको श्रोतको भनाइ छ ।














