एजेन्सी । विश्व बैंकले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा खाद्यान्न संकट सुरु भएको बताएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले सो युद्धको असरबाट देशमा खाद्यान्न संकट देखापरेकाले विश्वले गम्भीर विपत्तिको सामना गर्नुपर्ने बताएका हुन् ।

युद्ध लम्बिँदै जाँदा खाद्यान्न अभाव बढ्दै जाने र चर्को मूल्य वृद्धिका कारण करोडौँ मानिस गरिबी र न्यून पोषणको अवस्थामा पुग्ने उनले बताएका बीबीसीमा उल्लेख छ । विश्व बैंकले खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ । खाद्यान्न संकटको अवस्थाले गरिब देशहरू चाँडै समस्यामा पर्ने भन्दै विश्व बैंकले यसले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा पनि असर पुग्ने जनाएको छ । रुस र युक्रेनबाट मुख्य रुपमा खाने तेल र गहुँ निर्यात हुने भए पनि यी वस्तुको अभावका कारण मकै, चामललगायतका अन्य खाद्यान्नको पनि भाउ बढ्ने जनाइएको छ ।
समस्याको समाधानका लागि कुनै एउटा देशले खाद्यान्न भण्डारण गरेर राख्न नहुने, विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्ने, उत्पादन बढाउन ध्यान दिनेलगायतका काम गर्नुपर्ने विश्व बैंकले सुझाव दिएको छ । खाद्यान्न र ऊर्जाको मूल्य बढ्दै जाँदा विकाशोन्मुख देशले विदेशी ऋण तिर्न नसक्दा अर्को समस्या आउनेतर्फ सचेत गराउँदै विश्व बैंकले गरिब देशहरूमध्ये ६० प्रतिशत देश ऋणको संकटमा परिसकेको वा अधिक ऋणको उच्च जोखिममा रहेको बताएको छ । गरिब देशहरूलाई ऋणको बोझ कम गर्ने तरिका अहिले नै सोच्न जरुरी रहेको र विकल्प खोज्न जति ढिला भयो त्यति नै संकट चुलिँदै जाने पनि विश्व बैंकले जनाएको छ ।
यसअघि यसै महिनाको सुरुमा संयुक्त राष्ट्र संघले पनि रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम संकट हुने चेतावनी दिएको थियो । खाद्यान्नको मूल्य वृद्धिको दर हेर्दा ६० वर्षयताकै उच्च रहेको भन्दै राष्ट्र संघले बेलैमा सोच्न आग्रह गरेको छ ।














