काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक तीन वर्षपछि आज बस्ने भएको छ । तीन वर्षसम्म बस्न नसकेको नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक पहिलो पटक आज बस्न लागेको हो ।
२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएको थियो । आज बस्न लागेको बोर्ड बैठक सो ऐन लागू भएयताको पहिलो हो । नयाँ ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक डाक्न यही वैशाखको सुरुमा राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बोर्ड बैठक बस्न लागेको बताइएको छ । तर, राखेपले उच्च अदालतले पुनस्र्थापित गरेका राखेपका सदस्यलाई भने सहभागी नगराई बोर्ड बैठक गर्न लागेको जनाइएको छ ।
२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता बैठक बस्न नसकेपछि राखेप नेतृत्वको आलोचना हुँदै आएको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।











