बैतडी । सत्ता गठबन्धनबीच चुनावी तालमेलका नमिलेपछि नेकपा एकिकृत समाजवादीले बैतडीको पाटन नगरपालिकामा उम्मेदवार चयन गरेको छ ।
दलहरुबीच तालमेलका लागि सहमति नभएकाले एकल टिम घोषणा गरेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए । यदि तालमेल हुन्छ भने अझै सहमतिअनुसार जान सक्ने उनले बताए ।

भण्डारी आफैं नगर प्रमुख र द्रोपति जोशी अवस्थी उपप्रमुखको उम्मेदवार चयन भएका छन् । नगरका १० वटै वडाको टिमसमेत तयार गरेको उनको भनाइ छ । उनका अनुसार वडा नं. १ मा चन्द्रदेव भट्टराई, २ मा रमेश पन्त, ३ मा हरिसिंह बिष्ट र ४ मा ध्वजसिंह बिष्टलाई वडाध्यक्षको उम्मेदवार तय गरेको छ ।
यस्तै, वडा नं. ५ मा प्रदिप बोहरा, ६ मा राम भुल, ७ मा धर्मा बम चन्द, ८ मा जय सिंह महरा, ९ मा शिवराज भट्ट र १० मा गोपाल धामीलाई अध्यक्षका उम्मेदवार बनाइएको छ । एकीकृत समाजवादीले वडाध्यक्षमा महिला र दलितलाई समेत अवसर दिएको छ ।]
सहमतिको वातावरण बन्यो भने आफूले नगर प्रमुखको दावी छोड्ने समेत उनले बताए । कांग्रेसलाई एक्लै जित्छु भन्ने दम्भ भएकोले चुनावी तालमेल हुन नसकेको उनको भनाइ छ ।
यस्तै, सुर्नया गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार अध्यक्षमा समाजवादीको तर्फबाट उम्मेदवार हुनेछन् । उपाध्यक्ष माओवादी केन्द्रबाट उम्मेदवार बनाउने सहमति भएको छ ।














