
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व गलत भएकाले त्यहाँ रहेका इमान्दार कम्युनिष्ट रनभुल्लमा परेको बताएका छन् ।
पेरिसडाँडामा शुक्रबार आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा अध्यक्ष प्रचण्डले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको तर, नेतृत्वमा गलत व्यक्ति पर्दा इमान्दार कम्युनिष्टलाई फुत्किन गाह्रो भएका बताए ।
‘नेतृत्व भन्ने कुरा ठूलो हुँदो रहेछ । लिडरसिप गलत मान्छेको हातमा गयो भने इमानदार कम्युनिस्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ ।’ प्रचण्डले भने, ‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् ।’

एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले बताए । ‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युनिस्ट जुन साच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।
ओलीको गैरकम्युनिस्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपामा अस्वस्थ संघर्ष भएको पनि अध्यक्ष प्रचण्डले बताए । ‘जसलाई हामीले प्रधानमन्त्रीका रुपमा अगाडि सार्यौं । उनमा देखापरेको गैरमार्क्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले, प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो,’ उनले भने ।














