Logo
Logo

यी हुन् एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार


192.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगर भागबन्डा हुँदा देशभरका ६ मध्ये पोखरा महानगरको प्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई प्रमुख पदको उम्मेदवार बनाउने भएको छ ।

आचार्य नेकपा एमालेमा अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला माधवकुमार नेपाल समूहले बनाएको कास्कीको समानान्तर कमिटीका संयोजक थिए । पछि एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि आचार्य नेतृत्वको समानन्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको थियो ।

पोखरा महानगरमा प्रमुख पद पाएको एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा उपप्रमुख पाएको छ । काठमाडौंको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी हेटौडा उपमहानगरपालिकाको प्रमुख एकीकृत समाजवादीको भागमा परेको छ । हेटौडा उपमहानगरमा प्रमुख पदको उम्मेदवारको रुपमा एकीकृत समावादीले मीना लामाको नाममा सहमति जुटाएको छ ।

एकीकृत समाजवादीले तीन उपमहानगरमा उपप्रमुख पाएको छ । उपमहानगरको उपप्रमुख पदका उम्मेदवार पनि टुंगो लागेको छ । बुटवल उपमहानगरको उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपप्रमुखमा जोगबहादुर राना र इटहरी उपमहानगरको उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले तयारी गरेको छ ।

एकीकृत समाजवादीमा महानगरका प्रमुख, उपप्रमुख र उपमहानगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको नाममा सहमति जुटिसके पनि औपचारिक रुपमा सार्वजनिक भने गरेको छ ।

दृष्टिन्यूजसँग कुरा गर्दै एककिृत समाजवादीका एक नेताले भने– ‘उम्मेदवारको नाममा सहमति जुटिसकेको छ । तर, हामी आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्छौ । उम्मेदवारको विषयलाई लिएर हाम्रो पार्टीमा कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्