
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले कानुनले नचिन्ने भएकाले निर्वाचनमा बन्ने कुनै पनि गठबन्धन निर्वाचन आयोगले नचिन्ने बताएका छन् ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नका जवाफा दिने क्रममा थपलियाले भने– ‘निर्वाचनमा हुने गठबन्धनबारे कानुनले बोल्दैन । त्यस कारण निर्वाचन आयोगले कुनै पनि गठबन्धन चिन्दैन ।’
प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा दलहरुको आग्रह बामोजिम केही गर्न सक्ने अवस्था नरहेको समेत बताएका छन् ।
कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पु¥याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने उनको भनाइ थियो ।
कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उनले स्पष्ट पारे ।
प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको कार्यान्वयनका क्रममा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न आयोगले चाँडै थप निर्णय गर्ने जानकारी पनि दिए ।














