पाल्पा । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुंगो लगाएका छन् ।
नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको हो । कांग्रेसले रामपुर र तानसेन नगरपालिकासहित निस्दी, माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख, माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ । कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुगो लगाएको जानकारी दिए ।
उनका अनुसार कांग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी , तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ । यसैगरी, माओवादी केन्द्रको भागमा निस्दी, रैनादेवी छहरा र तानसेन नगरपालिका परेको छ भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ ।














