Logo
Logo

विकल्प आर्टले एक महिने बृहत् कला प्रदर्शनी गर्दै



काठमाडौं । ललितपुरको पुल्चोकस्थित ‘विकल्प आर्ट सेन्टर’ ले एक महिने बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । सहकार्यात्मक कला परियोजनाअन्तर्गत सेन्टरले ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा प्रदर्शनी गर्न लागिएको हो ।

कला प्रदर्शनी यही वैशाख १४ देखि जेठ १० गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा आयोजना हुने कार्यक्रम संयोजक सरोज महतोले जानकारी दिए । ललितपुरको पुलचोकमा १४ गते उद्घाटन भएपछि उपत्यकाका अन्य तीन ठाउँमा पनि प्रदर्शनी सञ्चालन हुने उनले जानकारी दिए । कलाका विभिन्न माध्यमको प्रयोग गरी सन् १९५० यता नेपालमा विकास भएका कलाको परिदृश्य र त्यसका विशेषतालाई प्रदर्शनीमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको कला परिदृश्यको इतिहासदेखि वर्तमानसम्मको संस्कृतिको अवलोकन गर्नु र यसलाई बहसको स्तरमा ल्याउनु हो । इतिहासलाई पुनरावृत्तिमात्रै गर्ने नभएर हाम्रो कला परम्परा र संस्कृतिबाट प्रेरणा लिने अवस्थाको सिर्जना गर्नु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक विषयमा ४५ कलाकारका पश्चिमा र पूर्वीय कलात्मक संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयका सिर्जना प्रदर्शनीमा रहनेछ । आयोजकका अनुसार विगत र वर्तमानमा संस्कृतिको प्रभाव आधुनिक कला संस्कृतिमा कस्तो रहेको छ भन्ने मूल्यांकनको आधार मानिएको उक्त प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कलाकृति र स्थानीय संस्कृतिसँग त्यसको सम्बन्ध, पहिचानका मुद्दालगायतका विषय समेटिएको छ । प्रदर्शनीका क्रममा कलाकृतिको अवलोकनसँगै कला संस्कृति र सम्बन्धित विषयमा बहस, कार्यशाला र विभिन्न किसिमका प्रस्तुति समावेश गरिएको छ ।

त्यसमा वर्तमान नेपाली कला संस्कृति र परिदृश्यको सचित्र वर्णन गरिने जनाइएको छ । प्रदर्शनीमा अग्रज कलाकारका चित्रकला र स्केच तथा न्यू मिडियाको माध्यमबाट प्रस्तुत हुने पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका कलात्मक सिर्जना रहनेछ । क्यान्भास र ग्यालरीभन्दा बृहतरूपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमबाट प्रस्तुत गरिने संयोजक महतोले जानकारी दिए । प्रदर्शनीमा राखिने सबै कला सिर्जनाहरू सन् १९५० को दशकपश्चात नेपालमा विस्तार भएको कला क्षेत्र र यसमा प्रभाव पारेका विभिन्न माध्यममा केन्द्रित रहने जनाइएको छ । प्रदर्शनीमा सहभागी कलाकार विगतको कला, संस्कृतिको अध्ययन र समसायिक कला संस्कृतिलाई अनुशरण गरेर अहिलेको कला क्षेत्रमा सक्रिय छन् ।

उनीहरु यसअघिका जानेका र सुनेका नियमभन्दा बाहिर आफ्नो अन्तर्मनको आवाजमार्फत छुट्टै कलात्मक यात्राको विकास गरिरहेका कलाकार हुन् । सहरमा सजाएर राखिएका यी सांस्कृतिक गौरव सम्झनामा आउँछन् । विभिन्न सहरमा भएका विभिन्न संस्कृति, सम्पदास्थल, सांस्कृतिक पूर्वाधार, वास्तुकलाले तिनीहरुलाई जीवन्त तुल्याएका छन् । विगत र वर्तमानका यी सिर्जनाले नेपालको समृद्ध कला परिदृश्यलाई वर्णन गर्छ । नेपाली समुदायमा भएका मौलिक संस्कृति र यसका आधारले गौरवशाली महसुस गराउँदै आएको छ । त्यस्ता कलाले नेपालको विगतको कथा भन्ने मात्रै नभएर वर्तमानको अवस्थालाई पनि अभिलेखीकरण गरिरहेका छन् ।

नेपाली कला परम्परा विश्वव्यापि प्रभावको परिणाममा मात्रै सीमित नभएर हाम्रो साझा राष्ट्रिय इतिहास र पहिचानको विषय हो । त्यसैले, प्रदर्शनी आयोजना गर्नुका पछाडि मुलुकको कला संस्कृतिमा भएका बहुआयामिक विशेषताका कारण सामाजिक, राजनीतिक परिवेश, जीवनशैली, मूल्य, मान्यतादेखि प्रभाव पार्ने तत्वको सुक्ष्म अध्ययन र अवलोकन गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्