
काठटमाडौं । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंग्याएको छ । आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । उनी नगर सभापति हुन् ।
यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने भएका छन् ।
त्यस्तै सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डे, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा उम्मेदवार रहेका यी तीनै जना एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।
टिकट पाउनेमध्ये पाण्डे पार्टीभित्र संस्थापनइतरका हुन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मुसलमान नेता भरत शाह निकट र बाँकी ४ जना गृहमन्त्री बालकृष्ण खाँण निकटका हुन् ।














