Logo
Logo

साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्रीको छलफल


315
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्ध र चासोलगायतको विषयमा छलफल भएको छ ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदुत अलोटाइवीसँग आग्रह गरे ।

सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवश्रोत आपुर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनले बताए । राजदुत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफु प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव गरेका थिए ।

अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ती उत्पादन गर्न सीप परिक्षण परियोजना संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए ।

साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । करिव चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्