
काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि देशभरमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३५ हजार भन्दा बढी पुगेको छ ।
निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३५ हजार २१२ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।
देशभरका २९३ नगरपालिकामा ३ हजार २४० जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा १ हजार ९८९ जनाको मनोनयन परेको छ ।
यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २४९ जनाको मनोनयन परेको छ । २ हजार २८९ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
गाउँपालिका र नगरपालिकामा भएको सबै उम्मेद्वारी जोडेर हेर्ने हो भने अध्यक्ष तथा प्रमुख (मेयर) पदमा परेको उम्मेद्वारीको संख्या ६ हजार ४८९ पुग्छ । त्यस्तै उपाध्यक्ष तथा उपप्रमुख (उपमेयर) पदमा परेको उम्मेद्वारी ४ हजार २७८ पुग्छ ।
स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।














