Logo
Logo

विमानस्थलमा अचम्मको घटना


3.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा अनौठो घटना भयो । बुद्ध एयरको विमानभित्र वेवारिसे अवस्थामा १० हजार आठ सय अमेरिकी डलर बरामद भयो ।

झापाको भद्रपुरबाट काठमाडौं आएको विमानमा सो डलर बरामद भएको थियो । प्रहरीले दिएको सूचनाअनुसार सबै यात्रु झरेपछि विमानका स्टाफले सफाइ गर्ने क्रममा एउटा कालो ब्याग फेला प¥यो । त्यो खोलेर हेर्दा डलर थियो । यति धेरै डलर बोकेको झोला कसैले विमानभित्र बिर्सन्छ होला ? प्रहरी अधिकारीहरुले नै यसमा विश्वास गरिरहेका छैनन् । यदी बिर्सिएकै हुन् भने किन पछि लिन लगएनन् ?

अर्काेतर्फ प्रहरीले पनि सो झोलाका धनी को हो भनेर सहजै पत्ता लगाउन सक्ने अवस्था छ । किनकी त्यो सिटमा को बसेका थिए भन्ने विवरण एयरलाइन्ससँग हुन्छ । भद्रपुर विमानस्थलमा सिसिटिभी फुटेज छ । त्यो हेर्दा पनि कसले त्यस्तो झोला बोकेको थियो भन्ने प्रष्टै हुन्छ । तर, त्यसतर्फ प्रहरीले किन अनुसन्धान गरेन ? रहस्यको विषय छ । व्यक्तिलाई जोगाउन त्यसरी मिलेमतोमा नै डलर वेवारिसे बनाइएको आशंका गरिएको छ । विमानस्थल प्रहरीले प्रारम्भिक अनुसन्धान समेत नगरी राजश्व अनुसन्धान विभागलाई डलर बुझाइदिएको छ ।

दुई महिनाअघि सौर्य एयरलाइन्समा पनि यस्तै घटना भएको थियो । जसमा सो एयरलाइन्सका कर्मचारी पक्राउ परेका थिए । यसपटक भने कोही पक्राउ नपर्दा घटना रहस्यमय बनेको छ ।

विमानस्थल प्रहरी यसअघि पनि पटक पटक यस्तै घटनाका कारण विवादमा परेको छ । यसअघि एक व्यक्ति तारबारबाट छिरेर विमानभित्रै प्रवेश गर्दा पनि प्रहरीले केही चाल पाएको थिएन । सो घटनामा पनि प्रहरीमाथि छानबिन भएन । केही महिनाअघि विमानस्थलबाट नेपालगञ्जमा तस्करीको सुन पुग्दा पनि काठमाडौंको एयरपोर्टले थाहा नपाउँदा बेइज्जत भएको थियो । यस्ता बारम्बारका लापरबाहीले विमानस्थलको सुरक्षामा प्रश्न उठ्दै आएको छ । यस्तोमा विमानस्थलका प्रहरी प्रमुख एसएसपी भिम ढकाल भने सुरक्षामा भन्दा भिआइपीको चाडकीमा केन्द्रीत हुने गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्