
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेका एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो ।
चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेदवारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उनको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो । बाराका भुदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ ।
यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताए ।














