Logo
Logo

चामलको बढ्दो आयातलाई घटाउनुपर्छ : अर्थमन्त्री


2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा भएको छलफलमा उनले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताए । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उनले भने ।

मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिए । “हामीले उन्नत जातको बीउ प्रयोग ग¥यौँ भने यसै वर्षदेखि कम्तीमा तीनगुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौँ”, उनले भने, “मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।” उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए ।

“उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौँ । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ”, अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

छलफलमा कृषि सचिव डा गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी गुणस्तरीय बीउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उनले उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताए । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्