कास्की । कांग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।

कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्ष कार्यकर्ताले तोडफोड गरेपछिको अवस्था । पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइसकेको छैन ।
पार्टी कार्यालयका अनुसार सभापतिको कुर्ची, टेवल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिएको छ । ‘यदि ठूलै क्षति पुगेको भए पार्टी कार्यालयबाट नै जानकारी आउला,’ उनले भने, ‘हामी पनि अनुसन्धानमा लागेका छौं ।’ पार्टीसँग सम्बन्धित विषय भएकाले पार्टी निर्णयअनुसार उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
दिउँसो पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक गर्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । वडा तहमा भागबन्डा नमिलेको भन्दै उनीहरुले नाराबाजीसहित अवरोध गरेका हुन् ।











