कास्की । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् । बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् भने विमल कार्कीको उम्मेदवारी कायम राखेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज अपरान्ह ५ बजेसम्मका लागि निर्धारण गरेको थियो । तर, सो अवधिसम्म कार्कीले आफ्नो बागी उम्मेदवारी फिर्ता नगरेका हुन् ।
सापकोटा र तिवारीले भने आफूहरुले गठबन्धनविरुद्ध उम्मेदवारी दिएपनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । कांग्रेसले बागी उम्मेदवारी फिर्ता नगरे पार्टीबाट निस्काशित गर्ने चेतावनी दिएको थियो । त्यसैले बागी उम्मेदवारी कायम राखेका कार्की स्वतः पार्टीबाट निस्काशित भएका छन् ।
यस्तै, चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी कायमै राखेका छन् ।














