
काठमाडौं । आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचेको भन्दै शेखरले आपत्ति जनाएका हुन् । वरियताक्रम मिचेर सरकारले प्रहरी प्रमुख नियुक्त गर्नु विधिको शासनको खिल्ली उडाउनु रहेको उनको भनाइ रहेको छ ।
तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारले निर्णयप्रति आपत्ति जनाउँदै शेखरले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको भनेका छन् ।
ट्वीटरमा शेखरले लेखेका छन– ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022











