
काठमाडौं । नेपाली कांग्रेसका कारण अधिकांश स्थानीय तहमा तालमेल हुन नसकिरहेको बेला नेपाली कांग्रेसले भने सत्ता गठबन्धनबीच समग्ररुपमा स्थानीय तहको चुनावी तालमेल सफल भएको बताएको छ ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा गरी गठबन्धनबीचको तालमेल सफल भएको दावी गरेका हुन् ।
धेरैलाई तालमेल सफल नहुने भनेता पनि अन्तिम अवस्थामा आइपुग्दा केही ठाउँमा विद्रोह भए पनि समग्रहमा तालमेल सफल भएको उनको भनाइ रहेको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने– ‘धेरैलाई तालमेल हुँदैन भन्ने लागेको थियो । केही ठाउँमा विद्रोह हुनु सामान्य मान्नुपर्छ । समग्रमा हेर्दा गठबन्धनबीच तालमेल भएको छ । हामी सफल भएका छौं ।’
अधिकांश स्थानीय तहमा कांग्रेसका वागी उम्मेदवार छन् । प्रवक्ता महतले भने अन्तिम अवस्था उनीहरु पार्टीको निर्णयकै पक्षमा उभिने विश्वास व्यक्त गरेका छन् । महतले भने– ‘गठबन्धनको केन्द्रीय सहमति विपरीत उम्मेदवारी दर्ता गराएका साथीहरु आधिकारिक उम्मेदवारको पक्षमा उभिनुहुन्छ । उम्मेदवारी फिर्ता लिन नमिले पनि वक्तव्यमार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नु हुने छ ।’
कांग्रेसले महानगर, उपमहानगर र नगरपालिकामा गरी मेयरमा २ सय ६२ र उपमेयरमा १ सय ८४ जानले उम्मेदवारी दिएको महतले जानकारी दिएका छन् । त्यसैगरी, गाउँपालिका अध्यक्षमा ३७२ र उपाध्यक्षमा ३४० जनाले कांग्रेसबाट उम्मेदवारी उनले जानकारी दिए ।











