सुनसरी । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले इटहरी उपमहानगरपालिकाको जमिनलाई गुरुयोजना बनाएर वर्गीकरण गर्ने घोषणा गरेको छ । चार दलीय गठबन्धनले सार्वजनिक गरेको संकल्प पत्रमा इटहरीका जमिन व्यापारिक, औद्योगिक, आवासीय र कृषि क्षेत्रमा वर्गीकरण गर्ने घोषणा गरेको हो ।

वर्गीकरणमा परेको जमिन वर्गमा परेको हुन्छ, त्यो जमिन त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने नीति बनाउने गठबन्धनको संकल्प पत्रमा उल्लेख छ । इटहरीलाई महानगर बनाउने मात्र नभई प्रविधि र पर्यावरण मैत्री शहरको परिकल्पना संकल्प पत्रमा गरिएको छ । बिजुली तथा इन्टरनेटको तार भूमिगत गरी इटहरीलाई सुन्दर बनाउने लक्ष्य राखिएको छ । खोला किनारमा साइकल लेन निर्माण गरी विरुवा रोपेर ग्रिन बेल्ट निर्माण गरिने गठबन्धनको प्रतिबद्धता छ । प्लाष्टिकमुक्त इटहरी बनाउने, सार्वजनिक ऐलानी जग्गामा नगरपार्क स्थापना गर्ने र एकघर दुई विरुवा अभियान अगाडी बढाउने संकल्प पत्रमा उल्लेख छ । इटहरीको प्रमुख समस्याको रुपमा रहेको बाढी र डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उपाय संकल्प पत्रमा समावेश छ ।
कवि मनु मञ्जिलको संयोजकत्वमा तयार भएको संकल्प पत्रमा थारु जातिलाई पहिलो जातिको रुपमा सूचीकृत गरिने उल्लेख छ । थारु भाषालाई विद्यालयमा ऐक्षिक विषयको रुपमा पठनपाठन गर्ने प्रतिबद्धता दलहरुले गरेका छन् । विद्यालयमा संगीत योग र ध्यानको व्यवस्था मिलाउने, सामुदायिक कलेजबाट स्नातकोत्तर उत्तीर्ण गर्ने दलित, सिमान्तकृत र छात्रालाई प्रोत्साहन स्वरुप १० हजार दिने उल्लेख छ । नगरपालिका कार्यालयमा गुनासो सुन्ने डेस्क स्थापना गर्ने, आन्दोलन र विरोध गर्नका लागि टाउन स्क्वाएर निर्माण गर्ने गठबन्धनले प्रतिबद्धता जनाएका छन् । इटहरी अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू सेवा उपलब्ध गराउने, सुविधा सम्पन्न अस्पतालका लागि निजी तथा सामाजिक संघ–संस्थासँग सहकार्य गर्ने, भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने संकल्प गठबन्धनले गरेको छ ।
तालिमका नाममा कार्यकर्तालाई पैसा बाँढ्ने प्रथाको अन्त्य गर्दै स्किल स्कुल स्थापना गरेर युवालाई सीपयुक्त बनाउने संकल्प पत्रमा उल्लेख छ । इटहरी लगानी सम्मेलन र युवा उद्यमी सम्मेलनको आयोजना गर्ने, सिर्जनशील युवालाई काम गर्ने वतावरण मिलाउन ‘कोवर्किङ स्पेस’ को स्थापना गरिने र मोबाइलबाटै कर तिर्ने व्यवस्था मिलाउने संकल्प पत्रमा उल्लेख छ । ज्येष्ठ नागरिक भजन प्रतियोगिताको आयोजना गरी वृद्धवृद्धालाई उत्प्रेरणा दिने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ । कार्यक्रममा गठबन्धनबाट प्रमुखका उम्मेदवार हेमकर्ण पौडेलले आफू संकल्प पत्र कार्यान्वयनमा प्रतिबद्ध भएको बताए । जनताले छुन सक्ने वा महसुस गर्ने सक्ने स्थानीय सरकार आफूहरुले बनाउने उनले बताए ।
उपप्रमुखका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्टले गठबन्धन कुनै हालतमा असफल नहुने बताए । आफू एकस्तर तल झरेर भए पनि इटहरीको विकासको साक्षी बन्न तयार भएको बताउँदै उनले आफूहरुले निर्वाचन जितेपछिको ५ वर्ष इटहरीका लागि स्वर्णिम काल बन्ने दाबी गरे ।
यी हुन्, गठबन्धनले नगर्ने सात काम
घोषणा पत्रमा गर्ने मात्र नभई नगर्ने काम पनि लेखिएको छ । उपमहानगरको सेवामा भेदभाव नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग नगर्ने, कानुन बाहिर आर्थिक र व्यक्तिगत प्रभावमा नपर्ने, नातेदार र परिवारका मान्छेलाई सल्लाहकार, विज्ञ, कर्मचारी नियुक्ती नगर्ने प्रतिबद्धतामा उल्लेख छ । यस्तै, हचुवाको भरमा निर्णय नगर्ने, वित्तीय अनुशासनको उल्लंघन नगर्ने, महिला हिंसा तथा विकृति विसंगतिलाई प्रोत्साहन हुने काम नगर्ने प्रतिबद्धता जनाइएको छ ।











