
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पछिल्लो दुई सार्वजनिक कार्यक्रममा स्थापितबाट व्यक्त विचार र प्रयोग गरेका शब्दलाई लिएर आयोगमा परेको उजुरीको आधरमा आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
वैशाख १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी प्रश्न गर्ने महिलालाई स्थापितले अभद्र शब्द प्रयोग गर्दै गाली गरेका थिए । यसै विषयमा स्थापितविरुद्ध उजुरी परेको हो । प्रश्नको जवाफ दिनुको सट्टा आक्रामक बनेका स्थापितले प्रश्नकर्ता महिलालाई ‘अनुहार राम्रो तर थुतुनो नराम्रो’ भन्दै अभद्र शब्द प्रयोग गर्दै गाली गरेका थिए ।
यसै विषयमा आयोगले ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्दै २४ घण्टे स्पष्टीकरण मागेको हो ।
स्थापितले निरन्तर अराजनीतिक अभिव्यक्ति दिँदै आएका छन् । सनबिार मात्र एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थापितले मेयरक अर्का उम्मेदवार बलेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेका थिए । उक्त अराजनीतिक टिप्पणीलाई लिएर समेत स्थापितको आलोचना भइरहेको छ ।











