
बेनी । सामान्य पहिरनमा लगाएकी महिला । पिठ्यूँमा बच्चा बोकेर दुई हात जोड्दै मत मागिरहेकी छन् । गाउँ-गाउँमा पुगेर आफूलाई जिताउन आह्वान गर्दै उनको दैनिकी बित्ने गरेको छ । एउटा हातमा पार्टीको झण्डा अर्को हातमा झोला ।
पिठ्यूँमा तीन वर्षको छोरा बोकेर चुनावी मैदानमा उत्रिएका छ रघुगङ्गा गाउँपालिका–६ पाखापानीकी मीना विश्वकर्मा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
सत्ताइस वर्षीया विश्वकर्माको तीन वर्षीय छोरा छन् । पेशाका हिसाबले हिउँदेबाली भित्र्याउने काममा व्यस्त हुनुपर्ने समय हो उनको विपन्न परिवारकी उनी यसअघि घरायसी काममा नै व्यस्त थिए ।
माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकी विश्वकर्मा पार्टीले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएपछि उनले त्यसलाई एउटा अवसरका रूपमा लिएर यतिबेला गाउँपालिकाको कुनाकन्दरा र टोलटोलमा घरदैलोको दौडाहामा छन् । पार्टीको साधारण कार्यकर्ता भएको नाताले सुरुमा धेरैले उनलाई साधारणरूपमा लिएका थिए । तर जब घरदैलो गर्दै आफ्नो योजना सुनाउन थाले तब उनको ओज ह्वात्तै बढेको छ । उनले नेपाली कांग्रेसका भवबहादुर भण्डारी, नेकपा (एमाले)का प्रेमबहादुर कार्की र स्वतन्त्रका सागर भण्डारीसँगको प्रतिस्पर्धा गर्दै छन् ।
उम्मेदवार विश्वकर्मालाई स्थानीयवासीले विजयको शुभकामना दिएका छन् । रघुगङ्गा –२ भगवतीमा आयोजित चुनावीसभामा सोमबार उनको भाषणले धेरैका आँसु रसाए । उनले गाउँमा आफ्नो पौरख गरेर खानेहरू पनि सत्ता सञ्चालनको हकदार हुने बताएका थिए । दलित र महिलालाई क्षमता भए पनि अवसर नहुने गरेको बताउँदै उनले विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरेका थिए । रासस














