रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पदबाट राजीनामा नदिई चुनावी प्रचार–प्रसारमा हिँडेको भन्दै कार्वाहीका लागि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

रुपन्देहीको तिलोत्तमा– ११ का स्थानीय प्रदीप थापाले निर्वाचन अधिकृतको कार्यालयमा तिलोत्तमामा नगरप्रमुख घिमिरेले निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा हिँडेको भन्दै उजुरी दिएका हुन् । बहालमै रहँदा चुनावी प्रचार–प्रसारमा हिँड्नु आचारसंहिता विपरीत भएको भन्दै थापाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । उजुरी पत्रमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नगरप्रमुख घिमिरेमाथि कार्वाहीको मागसमेत गरिएको छ ।
थापाले सोमवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उजुरी दिएका हुन् । मेयर घिमिरेले आइतवार एक पत्रकार सम्मेलनमा प्रमख अतिथिको रूपमा बोल्दै केन्द्रीय नेता तथा मन्त्रीले आचारसंहिता उल्लंघन गरेकाले आफूले पनि निर्वाचन आचारसंहिता पालना नगरेको दाबी गरेका थिए । उनले अझैसम्म पनि मेयर पदबाट राजीनामा दिएका छैनन् ।














