काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गरेका जनपक्षीय कार्यबारे सर्वसाधरण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ ।
पार्टीअन्तर्गत बागमती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा नेकपा (एकीकृत समाजवादी) स्थापना गर्नुपरेको कारणको यथार्थ प्रचार गर्नुपर्नेमा सहभागी वक्ताले सुझाए ।
पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताए । “जनपक्षीय कार्यबारे सबैलाई सुसूचित गर्नुपर्छ” उनले भने ।
त्यस्तै, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउनुपर्नेमा जोड दिँदै पार्टी र प्रचार विभागबीच समन्वयको खाँचो औँल्याइन् ।
प्रचार विभाग प्रमुख वसन्त मानन्धरले आसन्न निर्वाचनमा आफ्नो प्रदेशमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घोषणापत्रलाई स्थानीय सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
पार्टी प्रचार विभाग सदस्य नवराज अर्याल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष नवराज छत्कुली र संगठनका कोषाध्यक्ष कृष्णराज गौतमले गठबन्धनका साझा उम्मेदवारलाई सफल बनाउन संयुक्तरुपमा हुने प्रादेशिक गतिविधिलाई उपयोग गर्दै स्थानीय जनताको समस्या समाधानार्थ अग्रसर हुनुपर्नेमा जोड दिए ।











