काठमाडौं । अहिले देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने जनाइएको छ । प्रदेश नं. १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यसैबीच, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश नं. १ का केही ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।














