Logo
Logo

गलत राजनीतिज्ञका कारण देश दुर्घटनामा फँस्दै छ : अध्यक्ष रवीन्द्र मिश्र


रुपेन्द्र पटेल

1k
Shares

रौतहट । विवेकशील साझा पार्टीका राष्ट्रिय अध्यक्ष रवीन्द्र मिश्रले गलत राजनीतिज्ञका कारण देश दिनानुदिन दुर्घटनामा फँस्दै गएको बताएका छन् ।

गलत व्यक्तिको हातमा पटक–पटक देशको नेतृत्व जाँदा देश अहिंसा र अनिर्णयको भुमरीमा फँसेको उनको आरोप थियो । चुनावी प्रचार–प्रसारका क्रममा मंगलवार रौतहटको गरुडा आएका मिश्रले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले पटक–पटक सरकारको नेतृत्व गरेपनि देशमा परिवर्तन ल्याउन नसकेको बताए ।

उनले एमाले, कांग्रेस, माओवादीलगायतका दलले कुनै पनि हालतमा देशलाई निकाश दिन नसक्ने दाबी गर्दै देशको विकास र परिवर्तनका लागि आउँदो चुनावपछि विवेकशील साझा पार्टीले सरकारको नेतृत्व गर्नुको विकल्प नरहेको बताए । अध्यक्ष मिश्रले सत्तापक्षले सरकार छ भन्ने अनुभूति जनतालाई दिन नसकेको र प्रतिपक्ष आफ्नो भूमिकाबाट चुकेको टिप्पणी गरे ।

परम्परागत राजनीतिक दलले मुलुकलाई गरिबी, भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फँसाएकाले अब त्यसलाई विवेकशील साझा पार्टीले मात्र तोड्ने दाबी उनले गरे । नेपालमा वर्षौंदेखि अभ्यास गरिरहेका दलहरुले जहिले पनि शासन प्रशासनमा गएर राज्य दोहन गरेको उनले आरोप लगाए ।

विकासको नाममा पटक–पटक सत्तामा पुगेका दलहरुले देशलाई लुट्ने बाहेक अरु केही गर्न नसकेकाले देशलाई बर्बाद गर्ने दलहरुलाई जनताले आउँदो निर्वाचनमा राम्ररी सबक सिकाउनुपर्ने उनले बताए । विवेकशील साझा पार्टीबाट गरुडा नगरपालिकाको प्रमुख पदका उम्मेदवार लखिन्द्र गुप्तालगायत पार्टीका सबै उम्मेदवारलाई बहुमतसहित जिताउन उनले आम मतदातासँग आग्रह गरे ।

गरुडामा आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय नेता, जिल्लास्तरीय नेता विवेक शर्मालगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्