Logo
Logo

केशव स्थापितलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण


4.7k
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उमेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । स्थापितले गत आइतबार बोलेको विषयप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको हो ।

काठमाडौं महानगर प्रमुखका अर्का उमेदवार बालेन साहको विषयमा बोल्दै स्थापितले ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ !’ भन्ने आपत्तिजनक अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न पनि भनेको छ ।

स्थापितले बोलेको विषय निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२ (प) अनुकूल नभएको आयोगको भनाई छ ।

‘आचारसंहिता, २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२, जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड (प) अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरढण पेस गर्नुहुन निर्णायानुसार अनुरोध छ ।’, सोमबार जारी आयोगको पत्रमा भनिएको छ ।
आयोगतले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

आयोगले यसअघि पनि सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्