परासी । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई गएराति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो ।
त्यसक्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियोे । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














