कास्की । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार–प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
उम्मेदवारहरुले आचारसंहिता विपरीतका कार्य गरेको जनगुनासोपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको पुष्टि भएको छ ।
समितिले मंगलवार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार–प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य–सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं. १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन् ।
कार्यालयले आगामी दिनमा अनुमति प्राप्त स्थानमा बाहेक अन्यत्र माइक प्रयोग नगर्ने/नगराउने शर्तसहित एक पटकका लागि माइक फिर्ता गरिएको जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत जनाएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । विभिन्न दल र उम्मेदवारले वडा–वडामा सांस्कृतिक कार्यक्रमसहित चर्को आवाजमा कार्यक्रम गर्दा आचारसंहिता उल्लंघन हुने गरेको पाइएको छ ।











