
काठमाडौं । नवपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप हुँदा ६ जना घाइतेका भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका हुन् ।
घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले बताएको छ ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी छन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार बनेका छन् ।











