काठमाडौं । उद्योगमा विद्युत आपूर्ति सुरु भएपछि मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले आन्दोलन स्थगित गरेका छन् । यसअघि विद्युत् अवरुद्ध भइरहेको भन्दै उनीहरुले हिजोसम्ममा समस्या समाधान नभए चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणले प्रतिबद्धता अनुसार हिजोदेखि उद्योगमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि आन्दोलन स्थगित गरिएको मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विज्ञप्तिमार्फत जनाएका छन् । नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीमा आधारित रहेकाले हिउँदमा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुने गरेको छ ।
स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले हिउँदमा भारतबाट बिजुली ल्याएर माग धानिरहेको छ । तर, भारतमै पनि विद्युत् उत्पादन घटेकाले माग अनुसारको विद्युत् ल्याउन नसक्दा औद्योगिक क्षेत्रमा बिजुलीको आपूर्तिमा समस्या हुँदै आएको छ ।











