Logo
Logo

विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार घोषणा


756
Shares

काठमाडौं । राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १५ औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्षको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ बाट दुर्गा आचार्य (जलजला गाउँपालिका–७, पर्वत), कैलाश माझी (सप्तकोशी नगरपालिका ११, सप्तरी), उमिद बागचन्द (धनगढी उपमहानगरपालिका १, कैलाली) र मनोज रौनियार (वीरगञ्ज महानगरपालिका–८, पर्सा) पुरस्कृत हुने आयोगले जनाएको छ ।

यसैगरी, उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ बाट सत्यनारायण हुजदार (चौदण्डीगढी नगरपालिका, उदयपुर), गोकर्णराज वाग्ले (व्यास नगरपालिका, तनहुँ), दुर्गाप्रसाद शर्मा (जिल्ला समन्वय समिति, बाग्लुङ), निर्मल लामा (कमलामाई नगरपालिका, सिन्धुली) र राजु अर्याल (यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडा) रहेका छन् ।

उत्कृष्ट कर्मचारी पुरस्कारबाट विश्वबन्धु पौडेल (उपसचिव), डिल्लीराम भट्ट (शाखा अधिकृत) र हेमन्त रिज्याल (नायब सुब्बा) ले प्राप्त गरेका छन् । आयोगको स्थापना दिवस बिहीवार वैशाख २२ गते एक समारोहको आयोजना गरी ती पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिइन् ।

आयोगको स्थापना दिवसको अवसरमा सूचनाको हकमा कार्यरत संस्था, आमसञ्चारका माध्यम तथा सबैमा सूचनाको हकसम्बन्धी संवर्द्धन र संरक्षण हुने कार्यक्रम आयोजना, प्रचार–प्रसार, प्रकाशन तथा प्रसारण एवं परिसम्वाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पुर्याउन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्