महेन्द्रनगर । कञ्चनपुर जिल्लामा नेकपा एमालेभित्र विवाद चुलिएको छ ।
एमाले जिल्ला पार्टीले सिफारिस गरेका उम्मेदवारहरुलाई केन्द्रले अनुमोदन नगरेपछि जिल्लामा विवाद चुलिएको हो । विवादका कारण कारण नौ वटा स्थानीयमा एमाले कम्जोर हुँदै गएको छ ।

आन्तरिक विवादले कार्यकर्ता निराश बनेका छन् । जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलाई घनश्याम भुसालको मान्छे भन्दै ओलीले माओवादीबाट गएका वीरबहादुर थापालाई काखी च्यापेपछि एमाले कार्यकर्ता निराश बनेका हुन् । यसको प्रत्यक्ष असर हरेक स्थानीय तहमा देखिएको छ ।
पुनर्वासमा एमालेले पदम पुजारालाई मेयरको टिकट दिएपछि लामो समयदेखि पार्टीमा सक्रिय भारमल सुनारलगायतका असन्तुष्ट बनेका छन् । यति मात्रै होइन, भारमलहरुले वडाध्यक्षमा अगाडि सारेका उम्मेदवार समेत पुजारा पक्षले धम्की र कुटपीट गर्दै परिवर्तन गरेपछि पुनर्वासमा झन ठूलो विवाद देखिएको हो ।
उम्मेदवार मनोनयनको अघिल्लो दिन पुजारा पक्षले भारमल पक्षमाथि आक्रमण गरेको थियो । दलित समुदायको ठूलो मतभार रहेको पुनर्वासमा सुनारमाथि हातपात भएपछि दलित समुदायको भोट एमालेलाई नजाने स्थानीय बताउँछन् ।
दलित समुदायको अधिकारको पक्षमा लड्नुभन्दा दलित समुदायबाट संघर्ष गरेर नेता बनेका सुनारमाथि नै पैसा र गुण्डाको भरमा हातपात गरिएको भन्दै अधिकांश दलित समुदाय एकीकृत समाजवादीका उम्मेदवार जीवन थापाको पक्षमा खुलेर लागेका छन् ।
उता बेलौरी नगरपालिकामा समेत लामो समयदेखि सक्रिय पल्लव भट्टको स्थानमा कहिलेकाहीँ मात्रै फिल्डमा देखिने कमला बोहरालाई टिकट दिएपछि असन्तुष्टि बढेको छ ।
शुक्लाफाँटा तीन महिनाअघि मात्रै एमाले छोडेर समाजवादी या माओवादी बन्छु भन्दै छलफल चलाएका रणबहादुर महराले मेयरको टिकट पाएका छन् । एमाले नेता दामोदर भण्डारीको दबाबमा महरा उम्मेदवार बनेपछि उक्त क्षेत्रका सक्रिय नेता टेक हमाललगायत असन्तुष्ट बनेका छन् ।
एकातिर एमाले फुटेर एकीकृत समाजवादी बनेको छ । अर्कोतर्फ संगठनका इमानदार कार्यकतामाथि अन्याय गरिएपछि अहिले एमालेमा रहेको अधिकांश नेता तथा कार्यकर्ता निराश बनेका हुन् ।
संगठनमा काम गरेकालाई अवमूल्य गर्दै पछिल्लो समय माओवादीबाट आएकाहरु हावी भएपछि एमाले कार्यकर्तामा असन्तुष्ट बढेको हो । निर्वाचनमा केन्द्रले गरेको अन्यायविरुद्ध लागि पर्ने उनीहरुको भनाइ छ ।














