काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतको हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो । पोखरेलको रिटमा बिहीबार सुनुवाइ हुने सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । बहसको क्रम अझै नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।











