विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
बुधबार विराटनगरमा अयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएको र कसैलाई धोका दिन नुहने बताए । उनले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन ।’

प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने ।
अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । पुरातत्व विभाग मार्फत उत्खनन गर्ने उनको भनाइ छ ।
उनले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताए । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उनले भने ‘संसार भरी यही नियम छ ।’
प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराइ मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘पहाडी मधेशी सबैको देश हो,’ उनले भने,‘ सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’











