एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्गलोरले चेन्नई सुपर किङ्गसलाई पराजित गरेको छ ।
पुणेमा गएराति भएको खेलमा बेङ्गलोरले चेन्नईलाई १३ रनले हराएको हो । बेङ्गलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।
चेन्नईका डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बेङ्गलोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
बेङ्गलोरका महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन जोडे । चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए । जितसँगै बेङ्गलोरले ११ खेलमा १२ अंक जोडेको छ ।
बेङ्गलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अंकका साथ नवौँ स्थानमा छ ।











