रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गएराति झडप भएको छ ।
झडपमा परेर कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका हुन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरिएको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए । झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।
“अहिले अवस्था सामान्य छ”, उनले भने । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।











