एजेन्सी । । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
मुम्बईमा गएराति भएको खेलमा दिल्लीले हैदराबादलाई २१ रनले हराएको हो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । एडिन मार्रक्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले । वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले समान १/१ विकेट लिए ।
जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अंक जोडेको छ । समान खेलमा हैदराबाद १० अंकसहित छैटौँ स्थानमा छ ।











